असार ११, इनरुवा । सुनसरीको एक विद्यालयका प्रधानाध्यापकले कुटपिट गर्दा १७ वर्षीय गौतम पाठक घाइते भएका छन् ।
साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।
पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए ।
कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए । घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।








