असार ११, काठमाडौँ । स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा प्रस्तुत गरेको समाचार गोरखापत्र दैनिकमा छ ।
संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र आ—आफ्नो सभामा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले आइतबार नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गरेका हुन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । सोही अनुसार केही महानगरपालिका र उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहले आइतवार नीति, कार्यक्रम र बजेट पेश गरेका हुन् ।
स्थानीय तहले पेश गरेका नीति, कार्यक्रम र बजेटमा पूर्वाधार विकास (सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, फोहोरमैला व्यवस्थापन) सामाजिक विकास, धार्मिक र पर्यकीयस्थलको विकास गरी गाउँपालिका र नगरपालिकालाई समृृद्ध बनाउने योजना प्राथमिकतामा छन् ।








