असार ११, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित एवम् अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण हुने भएको छ ।
बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन गरेर ३३ रोपनी जग्गा खरिद गरी खेलमैदान निर्माण कार्य शुरु गरिएको थियो । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइ रहेको खेलमैदान तीन वर्षअघिदेखि नै सञ्चालनमा ल्याइए पनि व्यवस्थित गर्ने कार्य जारी रहेको क्लबका अध्यक्ष सुनिल राईले बताए ।
जग्गा खरिद, मैदान निर्माण तथा व्यवस्थापनका लागि पूर्वसभासद् पाँचकर्ण राई (पिके) को संसदीय विकास कोषअन्तर्गत रु ४० लाख, राष्ट्रिय खेलकूद परिषद्को रु २० लाख र दाताहरुबाट संकलन भएको रकमसमेत गरी करिब रु दुई करोड खर्च भइसकेको अध्यक्ष राईले जानकारी दिए ।
खेलमैदान परिसरमा शौचालय निर्माण भइसकेको छ भने हाल विशिष्ट व्यक्तिका लागि आसन कक्षसहितको व्यवस्थित मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।








