असार १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागेको छ ।
तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । काठमाडौँबासीले यही असारदेखि नै बाग्मतीको पानी उपभोग गर्न पाउने भएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको बताइन् ।
‘प्लान्ट स्थापना गरी बाग्मतीको पानी घर घरमा पुर्याउने कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ’, मन्त्री मगरले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाले बाग्मतीको मुहानको पानी सुन्दरीजलमा बनिरहेको ट्रिटमेन्ट प्लान्टमार्फत उपत्यकामा विस्तार भइरहेको पाईप मार्फत पुर्याउँछौँ ।’








