असार १४, काठमाडौँ । एसियाबाट रसियामा जारी विश्वकपमा भाग लिएकामध्ये जापानबाहेक अन्य राष्ट्र समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘एच’ मा रहेको जापानले आज नेपाली समय अनुसार ७ : ४५ बजे समूह चरणको अन्तिम खेल पोल्यान्डसँग खेल्दैछ । के जापान नकआउट चरणमा जाला त ?

यस्तो छ अन्तिम १६ मा पुग्ने सम्भावना:
जारी विश्वकपमा जापानले बलियो टिम कोलम्बियालाई हराएको छ भने समूहको बलियो टिम मानिएको सेनेगललाई पनि बराबरीमा रोकेको छ । उता पोल्यान्डले भने यी दुवै टिमलाई खेल सुम्पिएको थियो । यस अर्थ पोल्यान्डले खेलमा खराब प्रदर्शन गरिरहेको छ । यस्तोमा उच्च मनोबल लिएर जापान मैदानमा उत्रिने छ र पोल्यान्डलाई जित्दै अन्तिम १६ मा स्थान बनाउन सक्छ ।
तर नकआउट चरणमा प्रवेश गर्ने होडमा यो समूहमा तिन टिम छन् । सेनेगल र जापानको समान ४–४ अंक छ भने कोलम्बियाको ३ अंक छ । यस्तोमा सेनेगल र जापानले बराबरी खेल्दा पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ । तर कोलम्बियालाई भने अर्को चरण प्रवेशका लागि जित्नैपर्ने अवस्था छ ।
यस्तोमा जापानले पोल्यान्डलाई जिते सीधै दोस्रो चरणमा प्रवेश गर्नेछ । यदि कोलम्बियालाई सेनेगलले हराएमा पनि जापान दोस्रो चरणमा प्रवेश गर्नेछ । तर सेनेगल कोलम्बियासँग हारेमा र जापान पोल्यान्डसँग हारेको खण्डमा गोल अन्तर र हेड टु हेडका आधारमा सेनेगल र जापानमध्ये एक टिम नकआउट चरणमा प्रवेश गर्नेछ । र कोलम्बिया ६ अंकका साथ समूह विजेता हुनेछ ।
जापान भर्सेज पोल्यान्ड:
जापानले यस विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा बलियो मानिएको कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेलमा सेनेगललाई २–२ को बराबरीमा रोक्यो । अहिले जापानका लागि शिन्जी खाग्वा र युया ओसाका प्रमुख खेलाडी रहेका छन् । दुवैले यस विश्वकपमा एक एक गोल पनि गरेका छन् ।

त्यस्तै जापानका लागि अनुभवी खेलाडी किसुकी होण्डाको पुनरागमन सुखद समाचार बनेको छ । उनले सेनेगलविरुद्धको खेलमा निर्णायक गोल गरेर जापानलाई हारबाट बचाएका थिए ।
पोल्यान्डले पहिलो खेल सेनेगलविरुद्ध २–१ ले हारेको थियो भने दोस्रो खेलमा कोलोम्बियासँग ३–० ले खेल गुमाएको थियो । पोल्याण्डका स्टार खेलाडी रोबेर्ट लिवानडोस्कि फर्ममा नहुनु पोल्यान्ड लागि चिन्ताको विषय बनेको छ । जुन जापानको लागि सुखद हुन सक्छ ।







