साउन २, काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।
गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीसँग भएको करिब दुई घण्टाको ब्रिफिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो ।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार समितिको उक्त ब्रिफिङमा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।







