साउन ४, काठमाडौँ । लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ, समिट अस्पताल चौबिसै घण्टा सञ्चालनमा छ र बिरामीको चाप थेगिनसक्नु छ । तर, अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ, यहाँ बिरामीको संख्या शून्य छ । ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् ।

कान्तिपुर दैनिकमा छापिएको समाचारमा लेखिएको छ— आईसीयू सुविधासमेत भएको यो अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन् ।
बेडमा बोराका ठूल्ठूला पोका थिए । नर्सिङ स्टेसन र आकस्मिक कक्ष सुनसान थियो । दिनभरिमा जम्मा दुई जना बिरामी भर्ना भएका थिए । शिक्षामन्त्री अध्यक्ष हुने सीटीईभीटी परिषद् भने यो सुनसान अस्पताललाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिने अन्तिम तयारीमा छ । सीटीईभीटीका उपाध्यक्षको संयोजकत्वमा बसेको सल्लाहकार समितिको बैठकले यो अस्पताललाई सम्बन्धन दिन सिफारिस गरेको हो ।
सीटीईभीटीबाट नर्सिङ कार्यक्रमको सम्बन्धन दिन तयार पारिएको सूचीमा पहिलो नम्बरमा सीतापाइलाको शुभेच्छा इन्टरनेसनल अस्पताल छ । यो अस्पतालमा पनि बिरामी संख्या न्यून छ । ५० शय्याको अस्पतालमा बुधबार १२ बजे पुग्दा जनरल वार्डमा ९ जना, आईसीयूमा १ जना र प्राइभेट वार्डमा १ जना मात्रै थिए ।
सम्बन्धन दिन लागिएको भक्तपुरको मध्यपुर अस्पतालमा बिहीबार बिहान पुग्दा २६ बिरामी थिए । अन्य अस्पतालको तुलनामा मध्यपुरमा बिरामीको चाप अलि बढी नै थियो ।
सीटीईभीटीका अनुसार नर्सिङ कलेज सञ्चालन गर्ने अस्पतालको कुल शय्यामध्ये कम्तीमा ६० प्रतिशत बिरामी हुनुपर्छ । चिकित्सा शिक्षा विधेयकमा पनि यो प्रावधान छ । तर, यस्तै पूर्वाधार र बिरामी संख्या नपुगेका संस्थालाई सम्बन्धन दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको परिभाषा नै परिवर्तन गरेका छन्, जसमा सीटीईभीटीलाई बाहिर पारिएको छ ।








