०६ चैत २०८२ , शुक्रबार

प्रसाईंलाई सजाय किन भएन, गालीबेइज्जतीको कसुरमा कानूनी व्यवस्था यस्तो छ

साउन १०, काठमाडौँ । कान्तिपुर दैनिकले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँलाई कार्बाही नभएकोमा प्रश्नवाचकसहितको समाचार छापेको छ ।

 

 

समाचारमा लेखिएको छ— कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो ।

 

आलोचना बढेपछि मन्त्री तामाङले क्षमायाचना पनि गरेका थिए । तापनि प्रधानमन्त्री केपी ओलीले उनलाई राजीनामा गर्न लगाए । भूलबसै सही, कसैको मर्ममा प्रहार हुने गरी बोलेबापत तामाङले एक ढंगको कारबाही भोगेका छन् । तर यही कुरो उनले भन्दा चर्को स्वरले र पहिले भनेका थिए मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले । उनले चेलीहरूको सामूहिक रूपमा हुर्मत लिने काम मात्रै गरेका होइनन्, चिकित्सा क्षेत्रको बेथिति सुधार्न पन्ध्रौं सत्याग्रहमा होमिएका डा. गोविन्द केसीलाई मर्न दिऊँसमेत पनि भने । उनका यी दुवै भिडियो ट्वीटर, फेसबुक र युट्युबमा भाइरल हुन पुगे ।

 

तीनै सञ्जालमा थुप्रै व्यक्तिले प्रसाईंलाई कारबाही माग राखी हेलो सरकारलाई मेन्सन गर्दै टवीटसमेत गरे । तर न सरकारले कुनै कारबाही गरेको छ न त उनीविरुद्ध कतै उजुरी परेको छ ।

 

त्यसो भए यसरी चेलीहरूको प्रतिष्ठा र इज्जतमाथि संगीन प्रश्न उठाउने कसैमाथि कारबाही हुँदैन त ? ‘किन नहुनु ?,’ अधिवक्ता लेखनाथ भट्टराई भन्छन्, ‘नेपालका दुई ऐनमा भएका व्यवस्थाले प्रसाईंको अभिव्यक्तिलाई लिएर उनलाई कारबाही दायरामा ल्याउन सकिन्छ ।’ उनका अनुसार गाली–बेइज्जती ऐन, २०१६ र केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ अनुसार प्रसाईं कारबाहीका भागीदार छन् । कसैको चरित्र हत्या वा अनुचित लाञ्छना लगाउने नियतले दोष लगाए वा प्रचार गरे बेइज्जती गरेको ठहर्ने गाली बेइज्जती ऐनको दफा ३ मा उल्लेख छ ।

 

यस्तो गर्नेलाई ५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । ‘तर यसका लागि पीडित वा पीडितको परिवारले उजुरी दिनुपर्छ,’ अधिवक्ता भट्टराई भन्छन्, ‘सार्वजनिक अपराध र सजाय ऐनको व्यवस्थाले भने सरकार आफैंले मुद्दा लगाएर कसुर प्रमाणित भए २५ हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *