साउन १०, काठमाडौँ । बिबिसीमा उल्लेख भएको समाचार अनुसार अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा पानीको ताल रहेको प्रमाण फेला पारेका छन् ।

उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको र त्यो झन्डै २० किलोमिटर चौडा छ ।
यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए । तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो ।
यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो ।
तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन ।
ओपन युनिभर्सिटीका डा. मनीष पटेल भन्छन्, ‘हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ। त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ।’








