साउन १७, काठमाडौँ । चोरी आरोपमा मकवानपुरकी सरिता विक पक्राउ परेकी छिन् । प्रहरीका अनुसार उनको जीवन धान्ने आधार नै चोरी बनिसकेको छ । चोरीका लागि आवश्यक सामान सधैँ साथमा लिएर हिँड्ने उनको दैनिकी घर फोरेर धनमाल चोर्ने देखिन्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
चोरी आरोपमा पक्राउ परेकी उनले हालसम्म चितवनमा मात्रै २५ देखि ३० तोला सुन चोरी गरेको स्विकारेकी छिन् । जसमध्ये प्रहरीले पाँच तोला बरामद गरिसकेको छ । प्रहरीसँगको बयानमा उनले चितवनमा चोरी गर्न थालेको केही महिना मात्र भएको बताएकी छिन् । यसअघि काठमाडौं र अन्य सहरमा चोरी गर्ने गरेको उनले बताएको समाचारमा उल्लेख छ ।
अनुसन्धानको क्रममा आरोपित महिलाले चोरी घटनाबारे सप्रसंग व्याख्या गर्न थालेपछि प्रहरीले घटना थप रहस्यमय हुने भन्दै अतिरिक्त सोधखोज गर्न थाल्यो । र, उनीसँग चोरी कार्यमा संलग्न दुईजनाको पनि पहिचान गरी अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।








