साउन २६, काभ्रे । राम्रो आम्दानी हुन थालेपछि बाँझो रहेका पाखा पखेरोदेखि धान मकै फल्ने खेतबारीमा समेत काभ्रेका कृषकले अलैँचीखेती गर्न थालेका छन् ।

पनौती नगरपालिका–१ पर्खालचौर, ¥याले लगायतका किसान अलैची खेतीतर्फ आकर्षित भएका हुन् ।
पर्खालचौरका किसान विदुर सापकोटाले दुई वर्षदेखि २ रोपनी जग्गामा अलैँची खेती गरेर वर्षमा डेढ लाखसम्म आम्दानी हुन थालेपछि यसमा आकर्षण बढेको बताए । उनले अन्य बाली लगाउँदा पहिले ४० हजार मात्र वार्षिक आम्दानी रहेको बताए ।

त्यस्तै पनौती नगरपालिका–१ ¥यालेका उपेन्द्र तिमिल्सनाले विगत १३ वर्षदेखि अलैँची खेती गर्दै आएको बताए । उनले अलैँची बिरुवाको नर्सरी पनि सञ्चालन गरेका छन् । गोरखापत्र दैनिकमा रहेको समाचार अनुसार सानो लगानीमा सुरुवात गरेका अलैची खेतीले अहिले उनलाई वार्षिक १२ लाखसम्म आम्दानी दिएको छ ।
कृषक उपेन्द्रका अनुसार खासै ठूलो लगानी नचाहिने र खासै कुनै उत्पादन लिन नसकिने सेपिलो जमिनमा उत्पादन राम्रो हुने भएकाले धेरैको रोजाईँमा अलैँची खेती हुने गरेको बताए ।








