साउन २६, काठमाडौँ । ३३ किलो सुन तस्कर प्रकरणको छानबिन पूरा नभई अन्त्य गर्ने चलखेल भएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । छानविन गर्न बनेको छानविन समितिले सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन ।
सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ ।
समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।
केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।








