जेठ ६, काठमाडौँ । जुम्ला र रुकुम (पूर्व) जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालयमा पठनपाठन ठप्प भएको छ ।

यार्सा टिप्न अभिभावकसँगै बालबालिका पनि लेकतिर गएकाले पठनपाठन ठप्प भएको हो । बहुमूल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएका छन् । पातारासी गाउँपालिकामा पाँच मावि, २० निमावि र ६ प्रावि छन् ।
अभिभावकसँगै बालबालिका डोल्पा, जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क्षेत्रतिर गएको सरस्वती मावि पेरे खालाढिकका प्रधानाध्यापक वासुदेव शाहले बताए । ‘यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन्’ उनले भने ‘विशेषगरी निमावि र माविस्तरमा पढने विद्यार्थी लेकतिर गएपछि हामी शिक्षक कामविहीन भएको छौं ।’ एक दशकदेखि यो क्रम जारी रहेको उल्लेख गर्दै उनले यसले पठनपाठनमा असर परेको जानकारी दिए । अहिले सबै विद्यार्थी जीविकोपार्जनका लागि यार्सा टिप्न लेक (पाटन) तिर गएपछि विद्यालय सुनसानजस्तै भएको उनले बताए ।








