जेठ १३, विराटनगर । सुन तस्करीमा प्रहरी र ठूला नेताको मिलेमतो हुने गरेको चुडामणि उप्रेती ‘गोरे’ ले बयान दिएका छन् । सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गर्दै उनले आफू नाइके नभएको दाबी गरेका छन् ।
जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेको बताइएको छ ।
गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।
आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’ छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ ।








