जेठ १५, काठमाडौँ । जनताको प्रतिनिधिमूलक संविधानसभाले २०६५ जेठ १५ गते राजसंस्थाको अन्त्य गरी गणतन्त्र घोषणा गरेको आज ११ वर्षमा प्रवेश गरेको छ । गणतन्त्रपछि पात्र फेरिए पनि प्रवृत्ति भने जनताले महसुस हुने गरी नफेरिएको आजको नागरिकमा खबर छ ।
वंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भएसँगै शासन मात्र होइन, शाक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे ।
परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अब शासक र जनताबीचको दुरी अन्त्य हुनेछ । दलहरुको कार्यशैली फेरिनेछ । उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ । तर नागरिकका आशा र अपेक्षामा नेताका प्रवृत्तिले निराशामा परिणत गर्न थालेको छ ।








