जेठ १६, काठमाडौँ । सरकारले बजेटमा विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी कर व्यवस्थामा परिवर्तन गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको बजेट वक्तव्यअनुसार हाल कायम रहेको व्यक्तिगत आयकरको १५ र २५ प्रतिशतलाई हेरफेर गर्दै धनीलाई बढी र मध्यम आय भएकालाई राहत हुने व्यवस्था गरेको हो । साथै महँगा सवारी साधनको अन्तशुल्क वृद्धि पनि गरिदिएको छ ।
‘व्यक्तिगत आयकरमा हाल कायम रहेको पन्ध्र र पच्चीस प्रतिशतको सट्टा दस, बीस र तीस प्रतिशतका दरहरू कायम गर्ने प्रस्ताव गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ, ‘२० लाखभन्दा बढीको करयोग्य आयमा २० प्रतिशत अतिरित्त कर लगाउने प्रस्ताव गरेको छु ।’ राजस्व सचिव शिशिर ढुंगानाका अनुसार यो व्यवस्थापछि व्यक्तिगततर्फ साढे तीन लाख र दम्पतीका लागि सुरुको ४ लाखमा १ प्रतिशत कर लाग्ने छ ।
त्यसपछिको १ लाखमा १० प्रतिशत कर लाग्ने छ । त्यसपछिको अर्को २ लाखमा २० प्रतिशत कर लाग्ने छ । अर्को १३ लाखमा ३० प्रतिशत र त्यसभन्दा माथिको रकमका लागि अतिरित्त २० प्रतिशत आयकर लाग्ने भएको हो । ‘यो आधारमा मध्यम आय भएकालाई केही राहत र धेरै आम्दानी हुनेलाई केही बढी कर लाग्ने छ,’ सचिव ढुंगानाले भने, ‘यो प्रगतीशिल करको अवधारणा हो ।’
बजेटले आयकरमा हेरफेर गरेको छ । हेरफेरसँगै विलासी सवारीसँगै मद्यपान र धुम्रपान पनि महँगिने छ । त्यस्तै सामुदायिक संस्था र उत्पादानमूलकलाई कर छुटको व्यवस्था गरेको छ । रोजगारीबाट फर्कनेलाई सुन ल्याउन सुविधा दिएको छ भने घरजग्गा कारोबारमा कडाइ गरेको छ ।
शिक्षा र स्वास्थ्य सेवा शुल्क खारेजसँगै कर बढी उठाउन छुट र दण्ड योजनाको व्यवस्थासमेत गरेको खबर आजको कान्तिपुरमा छ ।







