जेठ २९, काठमाडौँ । नेपाल समाचारपत्रमा भएको समाचारअनुसार त्रिभुवन विश्वविद्यालयले तयार पारेको सेमेस्टर प्रणालीको क्यालेन्डर विद्यार्थीको हातमा पुग्न सकेको छैन । जसले गर्दा विद्यार्थीले परीक्षा, भर्ना प्रक्रिया, वार्षिक विदाका बारेमा जानकारी प्राप्त गर्न सकेका छैनन् ।

तर विश्वविद्यालयका अनुसार क्यालेन्डरअनुसार नै परीक्षा तालिकालगायतका शैक्षिक गतिविधि भइरहेको छ ।
विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया क्यालेन्डर अनुसार नै शैक्षिक गतिविधि गरिरहेको दाबी गर्छन् । ‘क्यालेन्डरअनुसार शैक्षिक गतिविधि अघि बढाइरहेका छौँ’, खनिया भन्छन्, ‘सबै सङ्कायको परीक्षा कहिले हुने भन्ने उल्लेख छ । तर, नतिजाको बारेमा भने लेखिएको छैन ।’
उता विद्यार्थीले भने शैक्षिक क्यालेन्डर आफ्नो पहुँचमा नपुगेको बताएका छन् ।








