जेठ ३१, काभ्रे । तोकिएको समयमा काम सम्पन्न नगर्ने एक ठेकेदार पक्राउ परेका छन् । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएका ठेकेदार लालप्रसाद चौलागाई बुधबार पक्राउ परेका हुन् ।

ठेकेदार चौलागाईले अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका थिए ।
चौलागाईले २०७३ वैशाख २० गते योजना सम्झौता गरेका थिए । २०७४ वैशाख १९ सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त काम ६० प्रतिशत मात्रै सम्पन्न गराई काम अगाडि नबढाएका कारण आवश्यक सोधपुछका लागि बुधबार कात्तिके देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
“चौलागाईलाई आवश्यक सोधपुछका लागि बुधबार पक्राउ गरिएको हो, कस्तो खालको कारबाही हुने भन्ने विषयमा आज टुंगो लाग्नेछ ।” मरासिनीले भने ।
चौलागाई अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट ठेक्का लिएका पेटी ठेकेदार भएको प्रहरीले जनाएको छ ।








