जेठ ३१, अमेरिका । अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विगत ४० वर्षदेखि सुरु भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको समाचार नागरिक दैनिकले लेखेको छ ।
केही समयअघि नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकास्थित राजदुतावासलाई दीर्घकालीन सोच राखेर राजदुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको अमेरिकाका लागि नेपाली दुतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयबाट पत्राचार भएलगत्तै उपयूक्त स्थानमा घर खोज्ने आन्तरिक प्रक्रिया सुरु भईसकेको प्रवक्ता श्रेष्ठले बताएका छन् । हाल किनिने भवनमा विभिन्न कार्यक्रम गर्न हलसहित र विदेशी कुटनीतिज्ञकोे चापलाई व्यवस्थापन गर्न फराकिलो पार्किङसहित सुविधा सम्पन्न हुनेछ ।
अमेरिका नेपाल कुटनीतिक सम्बन्धको ७० वर्ष नाघेको बेला अमेरिकामा नेपाली दुतावासको आफ्नै भवन हुँदा त्यसले अमेरिकामा रहेका नेपालीलाई सेवा सुविधामा सहयोग मात्रै होईन, अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्धलाई अहिले पनि मजबुत बनाउने एक पूर्व राजदुतले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘मैले आफ्नो पालामा पनि निकै पहल गरेको हुँ तर कर्मचारीतन्त्रकै कारण अन्तिम चरणमा पुगेर पनि सफल हुन सकेन ।’








