असार १, काठमाडौँ । विश्वकप फुटबल–२०१८ को पहिलो खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० गोल अन्तरले हराएको छ ।

रसियाका गजिनसकीले खेलको १२ औँ मिनेटमा अलेक्सान्डर गालोभिनको पासमा हेडमार्फत् खेल र विश्वकपकै गोल सुरुवात गरेका थिए ।
काउन्टर अट्याकिङ खेल प्रदर्शन गरेको रसियाले यसको फाइदा उठाउँदै खेलको हाफसम्ममा अग्रता दोब्बर बनायो ।
खेलको दोस्रो हाफमा पनि साउदी अरेबियाले रसियामाथि दबाब कायम राखे पनि पोष्टमा भने आक्रमण गर्न सकेन ।
बलमा ६० प्रतिशतभन्दा बढी नियन्त्रणमा राखे पनि निकै आक्रामक टोली मानिने साउदी अरेबियाले विपक्षीको पोष्टमा प्रहार लक्षित नै गर्न सकेन ।
खेलको ७१ औँ मिनेटमा आर्तेम जुबाले गोल गर्दै रसियाको अग्रता फराकिलो बनाए । उनी अतिरिक्त खेलको रुपमा मैदानमा प्रवेश गर्ने बित्तिकै टोलीका लागि गोल गरेका थिए ।
खेलको ९० मिनेटपछि इन्जुरी समयमा साउदीले थप दुई गोल खानपुग्यो । चेरसेभले खेलमा व्यक्तिगत दोस्रो गोल गरे भने अलेक्सान्डर गोलोभिनले खेलको अन्त्यमा फ्रिकिकबाट अर्को गोल थपे ।








