१६ जेठ २०८३ , शनिबार

फुटबलको महासंग्राम विश्वकप आजदेखि

जेठ ३१, काठमाडौँ । आयोजक रुस र साउदी अरेबियाबीचको खेलसँगै विश्वकप फुटबल आजदेखि मस्कोमा सुरु हुँदैछ ।

 

चार वर्ष लामो प्रतिक्षापछि विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१ औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

पहिलो पटक विश्वकप आयोजना गर्न लागेको रुसले फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँगको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारीसँगै उद्घाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।

 

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उद्घाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

 

स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनेछ । त्यो भन्दा पहिले सांगीतिक कार्यक्रम चल्नेछ ।

 

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

 

यसपटक नेपाली च्यानल ‘डिसहोम एक्सन स्पोर्टस्’ मा नेपाली कमेन्ट्रीसहित विश्वकप हेर्न सकिने डिसहोमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *