असार ३, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले नै आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमलाई बजेटले बिर्सिएको भन्दै अर्थमन्त्रीको आलोचना गरेको समाचार कान्तिपुर दैनिकमा छ ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि भएको छलफलमा भाग लिँदै सत्तारूढ नेकपाका सांसदहरू तीव्र आलोचनामा उत्रिएपछि शुक्रबारका लागि निर्धारित बैठक स्थगित गरेर शनिबार संसदीय दलको बैठक बोलाइएको थियो ।
मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको भन्दै सत्तारूढ सांसदहरूले संसद् बैठकमै तल्लोस्तरसम्मै पुगेर सरकारको आलोचना गरेका थिए ।
बैठकमा नेकपा सचिवालय सदस्यसमेत रहेका नेता भीम रावलले बजेटमा सरकार चुकेको धारणा राखे । उनले बजेट सन्तुलित नभएको, ठूला आयोजना सुरु गर्न आँट नगरेको आरोप लगाए । ‘बजेट मनपरी ढंगले वितरण गरिएको मात्रै छैन,’ उनले भने, ‘संविधान र संघीयताको मर्मअनुसार पनि आएन ।’








