असार ५, मस्को । रसियामा जारी फिफा विश्कप फुटबलको समूह एचको आफ्नो खेलमा जापानले इतिहास रच्दै कोलम्बियामाथि २–१ को जित निकालेको छ । यो जितसँगै दक्षिण अमेरिकी टिमविरुद्ध एसियाली टिमको पहिलो विजयको कीर्तिमान कायम भएको छ ।

खेलको तेस्रो मिनेटमै कागावाको सटलाई पाखुराले छेकेवापत् रेडकार्ड पाएपछि १० खेलाडीमा सीमित कोलम्बियालाई जापानले खेल अवधिभर दबाबमा राखेको थियो ।
सिन्जी कागावाले पेनाल्टीमार्फत लिएको अग्रतालाई कोलम्बियाले ३९ औँ मिनेटमा क्विन्टेरोले गोल गरी बराबरी गरे। उनले फ्रि किकमार्फत् पाएको बललाई वालमुनिबाट छिराएर गोल गरेका थिए।
७३ औँ मिनेटमा ओसाकोले तीन जना डिफेन्डरको बीचबाट पाएको कर्नर बलको पासलाई हेड गरी जाली चुमाएपछि जापानले फेरि अग्रता लियो। यही गोले नै जापानको जितको निर्णायक बन्यो ।








