असार ११, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० को शनिबार प्रकाशित नतिजामा गम्भीर त्रुटि देखिएको छ । यसले पाँच लाख विद्यार्थीको मनोविज्ञानमा खेलबाड भएको समाचार नयाँ पत्रिका दैनिकले लेखेको छ ।

परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।
पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आईतबार बढेको हो ।
जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् ।
कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखाएको थियो ।
यसैबीच परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटिलाई इनिजनियरले सच्याइसकेको बताए । उनले पछिल्लो नतिजा आधिकारिक भएको प्रष्ट बताएका छन् ।
यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ ।








