असार १९, काठमाडौँ । तास विभिन्न मुलुकबाट नेपालमा करोडौँको आयात हुन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ ।

कानूनले बर्जित गरेको तास नेपालमा १० महिना अवधिमा ११ करोड ९५ लाख रुपैयाँको भित्रिएको छ । चीनबाट मात्रै १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ । यो तथ्याङ्क भन्सार विभागले रेकर्ड गरेको आर्थिक वर्ष ०७४÷७५ को अघिल्लो १० महिनाको हो । यो बाहेक भारतसँगको खुला सिमानाका कारण त्यहाँबाट भित्रिने तासको लेखाजोखा नरहेको समाचार नागरिक दैनिकमा छ ।
मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन ।








