असार २३, बैंकक । थाइल्यान्डको चियाङराइस्थित गुफामा फसेका १२ विद्यार्थी र उनीहरूका सहायक फुटबल प्रशिक्षकको उद्धार प्रयास जोखिमपूर्ण बन्दै गएको समाचार छ । उनीहरूको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोरसमेत चार दिनदेखि खटिएका छन् । तर उद्धार टोलीले उनीहरूलाई बाहिर निकाल्न अझै सकेका छैनन् ।

गुफामा घुम्न गएका उनीहरू फसेको नौ दिनपछि सकुशल रहेको पाइएको थियो । उनीहरू अझै स्वस्थ रहेको समाचार आइरहँदा उद्धारको काम भने झनै जोखिमपूर्ण बन्दै गएको छ । उद्धारका क्रममा थाई नौसेनाका गोताखोर समन गुननको मृत्यु भएको छ ।
फसेका व्यक्तिलाई खानेकुरा पुर्याएर फर्किने क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको जनाइएको छ । अधिकारीले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय गुननको मृत्यु भएको जनाएका छन् ।
उद्धारमा थाइल्यान्डको नौसेनाका गोताखोर, सैनिक र अरू उद्धारकर्मीसहित करिब एक हजार जना खटिइरहेका थाई सरकारले जानकारी दिएको छ ।








