असार २८, काठमाडौँ । अविरल वर्षाका कारण उपत्यकामा डुबान हुनाका साथै भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले ३ जनाको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको ज्यान गएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामा छन् ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको हो । बाढीले घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाएको छ । घर टहरा डुबानमा परेपछि हजारौँ बासिन्दा बचल्लीमा परेका छन् ।
राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।








