साउन १४, काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि संसदीय विशेष सुनुवाई समितिबाट अनुमोदन हुन सकेन ।

निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै संसदीय विशेष सुनुवाई समितको बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी विवादमा तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको हो ।








