साउन १८, विराटनगर । विराटनगरस्थित भारतीय राजदूताबासको सम्पर्क कार्यालयले आफ्ना सम्पूर्ण गतिविधि बन्द गरे पनि कार्यालयमा राखिएको भारतीय झण्डा भने अझै नहटाइएको समाचार गोरखापत्र दैनिकमा छ ।
पहिले विभिन्न व्यक्तिको चहलपहल देखिने उक्त कार्यालयमा अहिले कार्यालयका कर्मचारी बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ । “हामीलाई कर्मचारी बाहेक कसैलाई पनि भित्र पस्न नदिनु भन्ने आदेश छ”, सम्पर्क कार्यालयको गेटमा डिउटी गरिरहेका चौकीदारले भने, “गेटभित्र पस्नलाई भित्रबाटै आदेश आउनु पर्छ ।
स्थानीय बासिन्दा मोहम्मद सजुलले कार्यालय बन्द भएको भन्ने आफूहरुले सुने पनि वुधबारबाट कार्यालयमा चहल पहल नदेखेको बताए । भारत जानलाई मोटर साईकलको रुट पर्मिट लिन सम्पर्क कार्यालय पुगेका विराटनगरका सुजल साहलाई पनि बिहीबार चौकीदारले कार्यालय बन्द भइसकेको भन्दै गेटबाटै फकाई दिएका थिए ।
उता सम्पर्क कार्यालयको गेटमा टाँसिएको सूचनामा कार्यालयले यसअघि उपलब्ध गराउँदै आएको सवारी साधनको रुट पर्मिट, प्रमाणपत्रको रजिष्ट्रेशन, नेपालमा बस्ने भारतीय नागरिकको जन्म मृत्यूको दर्ता लगायतको सबै सेवा अगष्ट १ देखि नै बन्द गरिएको जनाइएको छ । कार्यालयको हिसाव मिलन बाहेक अरु सबै काम बन्द गरिएको सोही कार्यालयको लेखा फाँटमा काम गर्ने एक कर्मचारीले बताए ।
गत २०६५ भदौ २ गते बाढीले कोशी नदीको बाँध फुटाएपछि नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारत हुँदै कोशी पश्चिम जाने अनुमति दिनका लागि उक्त सम्पर्क कार्यालय स्थापना भएको थियो ।








