साउन १९, काठमाडौँ । नेपालले नेदरल्यान्डसँगको एकदिवसीय सिरिज बराबरीमा टुङ्ग्याएको छ । रोमाञ्चक रूपमा शुक्रबार भएको खेलमा १ रनले नेदरल्यान्डलाई पराजित गर्दै नेपालले ऐतिहासिक पहिलो जित हात पारेको हो ।
नेपालको जितका लागि कप्तान पारस खड्का र सोमपाल कामी नायक सावित भए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २ सय १७ रनको चुनौती खडा ग¥यो । उक्त चुनौती पछ्याएको नेदरल्यान्डले अन्तिम ओभरको अन्तिम बलमा अलआउट हुँदै २१५ रन बनायो । उसलाई अन्तिम बलमा २ रन आवश्यक थियो । तर कप्तान पारसले फ्रेड क्लासनलाई अन्तिम बलमा रनआउट गरिदिए ।
नेदरल्याण्डका लागि वेस्ले बारेसीले सर्वाधिक ७१ रन तथा ड्यानियल टर ब्राकले ३९ रनको योगदान दिए पनि टोलीलाई जीत दिलाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले तीन तथा ललित भण्डारीले २ विकेट लिए । पारस, सोमपाल, बसन्त रेग्मी र दीपेन्द सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि, पहिलो ब्याटिङ नेपालका लागि सोमपालले आक्रामक पारी खेल्दै सर्वाधिक ६१ रन बनाए । उनले मात्र ४६ बलमा ३ छक्का र ५ चौका हिर्काउँदै सो रन जोडेका थिए ।
त्यस्तै कप्तान पारस खड्काले ५१ रनको महत्वपूर्ण योगदान दिए ।
नेदरल्याण्डका लागि फ्रेड क्लासनले ३ विकेट लिए भने माइकल रिपोन र पिटर सिलरले २–२ विकेट लिए ।







