साउन २१, काठमाडौँ । आजको कान्तिपुर दैनिकले साउदी अरबमा जेलमा परेका इलामका प्रेमबहादुर राई जेलमुक्त भएर स्वदेश फर्किएको समाचार छापेको छ । त्यहाँको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि उनी जेलमुक्त भएका हुन् ।
उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।
नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।








