०४ चैत २०८२ , बुधबार

चुनावी जोखिमबाट कसरी जोगिन्छ पूँजी बजार?

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा केही समय अगाडि भएको प्रादेशिक चुनावमा भाजपाले जीत हासिल गरेमा भारतका स्टक एक्सचेन्जका सूचकहरू तत्कालका लागि उक्लने प्रक्षेपण फाइनान्सियल एक्सप्रेसले गरेको थियो।

इयुबाट बेलायत अलग हुने वा नहुने भन्ने विषयमा जनमत संग्रह हुँदै गर्दा अलग हुने भन्ने पक्षमा नतिजा आए त्यसले ब्रिटिश पाउण्डलाई अमेरिकी डलरको तुलनामा कमजोर बनाउने र फुट्से हन्ड्रेड इन्डेक्समा पनि भारी गिरावट आउने त्यहाँका पत्रपत्रिकाले प्रक्षेपण गरे पनि स्टक एक्सचेन्ज प्रतिको त्यो अनुमान कालान्तरमा गलत सावित भयो।

फ्रान्सेली लगानीकर्ताहरूले १५ दिनको अन्तरालमा हुन लागेको राष्ट्रपतिको दोस्रो चरणको चुनावमा इम्यानुएल म्याक्रोन विजयी हुने अपेक्षा गरिँदै गर्दा फ्रेन्च स्टक इन्डेक्स सिएसी दुई साता भन्दा कम समयमा ४.५ प्रतिशतले बढिसकेको छ।

चुनाव परिणामपछि सरकारमा आउने शक्ति र त्यो शक्तिले अपनाउने आर्थिक नीतिका कारण विश्वभरी नै चुनावअगाडि स्टक एक्सचेन्जका सूचकहरूमा एक किसिमको परिवर्तनको माहोल देखापर्छ। यस किसिमको प्रभाव नेपालको स्टक एक्सचेन्जमा कमै मात्रामा देख्न पाइन्छ। समयमै चुनाव नहुने हुँदा पनि यस प्रकारको प्रवृतिको अध्ययन गर्न कठिन छ।

पछिल्लो एक महिना चुनाव हुने र नहुने आंकलनका बीच गुज्रियो। चुनावका कारण आर्थिक गतिविधि बढ्ने भए पनि स्टक एक्सचेन्जको बढ्दो वा घट्दो परिसूचकसँग यसको प्रत्यक्ष सम्बन्ध हुँदैन। यद्यपि यसको बलियो प्रभावलाई नकार्न भने सकिन्न। चुनावले परिवर्तनलाई सम्बोधन गर्छ, जनताका अपेक्षा र आकांक्षालाई सम्बोधन गर्छ। यसर्थ सामान्य अपवाद बाहेक चुनावको परिणामले आम जनताको मनोबल बढाउन सहयोग गर्छ।

यो बढ्दो मनोबलको असर पूँजी बजारमा पनि देखिन्छ। नेपालमा स्थानीय निकायको चुनाव घोषणालगत्तै सर्किट ब्रेक लाग्ने गरी चैत्र १५ गते झण्डै ७७ अंकले र चैत्र २० गते ७९ अंकले नेप्से सूचकमा वृद्धि भएको थियो। त्यसपश्चात केही दिन मधेसी मोर्चाको कारण उत्पन्न गतिरोधले गर्दा शिथिलता आएको पनि आएको थियो। बुलिस ट्रेन्डमा रहेको बढ्दो बजारले चैत्र २९ गते १७०९.८२ अंक कायम गरेको थियो। जुन यतिबेलाको सर्वाधिक उचाइको बिन्दु हो।

सेयर बजार

सेयर बजार

चुनाव हुने र नहुने आशा र आशंका बीच बजार उताररचढावको आफ्नो नियमित प्रकृयामा चलि नै रह्यो। यो क्रममा सूचक यतिबेला १६६० वरिपरि अल्झिरहेको छ। बढ्दो बजार भएको र लगानीकर्ताले लगानीका अन्य आधारभूत सिद्धान्तहरुलाई पनि ध्यान दिइ लगानीको निर्णय गरेको देखिन्छ। अन्यथा यस्तो अवस्थामा दोस्रो बजारमा ‘बबल’ सिर्जना भइ धेरै लगानीकर्ताहरू जोखिममा पनि पर्न सक्ने सम्भावना रहन्छ। चुनावकै कारण अर्थतन्त्र थप चलायमान हुने, अनौपचारिक अर्थतन्त्रबाट समेत रकम मूख्य अर्थतन्त्रको प्रणालीमा आउने कुरा नकार्न सकिन्न। जुन पैसा कुनै न कुनै रुपमा मुद्रा बजार हुदै पूँजी बजारसम्म आइपुग्छ र पूँजी बजारलाई थप चलायमान बनाउँछ।

पछिल्लो समय नेप्सेमा दैनिक कारोबार रकम औसत एक अर्ब भन्दा बढी हुने गरेको तथ्यले पनि पूँजी बजारमा थप रकमको आगमन भएको कुरालाई आधार दिन्छ। यद्यपि थपिएको यो सबै रकम स्थानीय निकायको चुनावकै कारण मात्रै पूँजी बजारमा आएको हो भन्नु गलत हुन्छ। करिब एक वर्षअगाडि नेप्से सूचक यसरी नै उकालो लाग्न सुरु गर्दा पनि दैनिक एक अर्बभन्दा बढीको कारोबार भएको थियो।

चुनावका अतिरिक्त स्टक एक्सचेन्जको सूचकलाई असर गर्ने अन्य धेरै कुराहरुलाई पनि सँगँसँगै विश्लेषण गर्न जरुरी हुन्छ। पछिल्लो समय नेपालको धितोपत्र बजार परिपक्क हुँदै गएको छ। नेप्सेले केही महिनाभित्रै अनलाइन ट्रेण्डिङ सुरु गर्ने जनाइसकेको छ। एनआरएन नेपालीहरुलाई दोस्रो बजारमा भित्र्याउने कार्यविधि तयार हुँदैछ। ब्रोकरका शाखा रिङरोडको चौघेरा नाघेर दूरदराजमा पुगेका छन्।

ढीलै भए पनि नागरिक लगानी कोष बजार निर्माताको रुपमा भित्रिने तयारी गरिरहेको छ। वास्तविक क्षेत्रका संस्थाहरु म्याक्स भिजन ट्रेडिङ्ग, अर्घखाँची सिमेन्ट, निम्बसजस्ता संस्थाहरु सार्वजनिक निष्कासन गरेर दोस्रो बजारमा भित्रिने तयारी गरिरहेका छन्। आर्थिक सूचकहरु लोभलाग्दा देखिन थालेका छन्। मुद्रास्फिति कम्फर्ट जोनभित्रै छ। प्रायःजसो सूचीकृत संगठित संस्थाले तेस्रो त्रैमासको राम्रै वित्तीय विवरण पेस गरेका छन्। केही दिनपछि नै नयाँ आर्थिक वर्षको बजेट आउँदै छ र यो सबैको बीचमा स्थानीय निकायको चुनाव हुँदैछ।

चुनावको कारण बढ्दो आर्थिक क्रियाकलापले स्टक एक्सचेन्जको बढ्दो गतिलाई सहयोग गरेता पनि पछिल्लो केही दिन यता नेप्से थोरै अंकले घटिराखेको छ। आइतबार पनि नेप्से २४ अंकले घटेको छ, कारोबार रकम करिब ७० करोडको हाराहारीमा रह्यो। यो घटाइको प्रकृति हेर्दा लगानीकर्ताले बढ्दो बजारमा थप जोखिम लिन नचाहेको बुझ्न सकिन्छ। चुनावको नतिजासम्म लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाएको हुनसक्छन्। आधारभूत पक्षहरु सबल भएका र संस्थागत सुशासन राम्रो भएको संस्थामा लगानी गर्दा लगानीकर्तालाई कम जोखिम हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ।

चुनावका कारण सिर्जित जोखिमको मूल्याङ्कन हरेक लगानीकर्ताको लागि फरक हुन सक्दछ। आफ्नो लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमतालाई पहिले नै निश्चित गरेर लगानी विविधिकरणको सिद्धान्तअनुरुप लगानीको निर्णय गर्न सकेको खण्डमा चुनावबाट पूँजी बजारमा उत्पन्न हुनसक्ने जोखिम न्युनीकरण गर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *