धनगढी – पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोचेकी थिइनन् । तर कमैया मुक्तिपछि उनको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ । सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्छन् । सुन्दरीले आफ्ना श्रीमान्नको कामलाई सघाउँदै आएकी छन् । आफैँसँग घर निर्माणको सीप भएकाले कम लागतमा घर निर्माण गर्न सक्नेमा उनी आशावादी छन् । ‘डकर्मीको काम भ्याइनभ्याई छ’ चौधरीले भनिन् । आर्थिक अवस्था कमजोर भएकै कारण विगतमा छोराछोरीलाई विद्यालय पठाउन नसकेपनि अहिले उनले चार छोराछोरीलाई विद्यालय भर्ना गरेकी छन् । कैलालीको चौमालाका एक जना साहुमहाजनको घरमा कमैयाको रुपमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछि धनगढीको पुरानो हवाई मैदानमा अन्य मुक्तकमैया परिवारसँगै कच्ची घरमा बस्दै आएको छ । पुरानो हवाई मैदानमा बसेका मुक्त कमैया परिवारलाई प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउन पहल थालेको छ । जग्गाको पुर्जा नपाउँदै कतिपय मुक्त कमैया परिवारले पक्की घर निर्माण थालेका छन् । यहाँ करिब ५० मुक्त कमैया परिवारको बसोबास छ । आर्थिक अवस्था कमजोर रहेका मुक्तकमैयाले पछिल्लो पटक स्वरोजगार मूलक व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यही कमाइबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ ।
मुक्त कमैया गोपाल चौधरी विद्युतीय रिक्सा चलाउँछन् । उनले चार लाख रुयैयाँमा किनेर त्यो पेशा अपनाएका हुन् । “मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ,” उनले भने । चौधरीले पक्की घर निर्माण गर्ने योजना बुनिरहेका अगाडि छन् । जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झन्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम प्रदान गरिएको बताए । करिब ७० प्रतिशतले आफ्नो सीपको सदुपयोग गरेको उहाँको भनाइ छ । मुक्त कमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेतीलगायत विषयमा तालिम लिएका छन् । मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिवसमेत रहेका कठायतले पुनःस्थापित भएका मुक्तकमैयालाई घर बनाउन चाहिने काठबापत प्रतिपरिवार रु एक लाख उपलब्ध गराएको बताए । जिल्लामा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिएको छ । झन्डै ६०० परिवारलाई पुनःस्थापित गराउन बाँकी छ ।








