वैशाख २९, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतार्थ पशुपति मन्दिरको साजसज्जा गरिएको छ । प्रधानमन्त्री मोदी शनिबार बिहान १०ः३० बजे पशुपतिनाथमा पञ्चामृत पूजाको सङ्कल्प हुनेछ । मन्दिर परिसरको वासुकी, लालगणेश, कीर्तिमुख भैरव, उन्मत्त भैरव, नवग्रह सत्यनारायण, सन्तापहरेश्वर, सन्तानेश्वर, ज्वरेश्वर लगायतका देवस्थलमा पनि उनले पूजा अर्चना गरिनेछ ।
पशुपतिनाथका विसेट अरुण श्रेष्ठका अनुसार मोदीले अघिल्लो पटक भ्रमणमा आउँदा एक पटक पशुपतिनाथमा पूजा गरिसकेका थिए ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र शनिबार थप व्यवस्थित हुनेछ । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत डम्बरबहादुर कार्कीका अनुसार पशुपतिनाथका मूल पुजारीलगायत सहयोगी र मन्दिर परिसरका सबै देवस्थलका पुजारीलाई देवस्थलमा रहन भनिएको छ । रुद्री वाचक वटुक, स्तोत्रलगायत पाठ गर्ने ब्रह्मणलाई पनि आआफ्ना स्थानमा रहन भनिएको छ ।








