जेठ ४, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले–माओवादी एकीकरण राजनीतिक वर्चस्वका लागि भएको बताएका छन् । उनले फेसबुकमा ‘प्रारम्भिक’ टिप्पणी गर्दै एउटै विचार, नीति , कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरूबीच एकता हुनु राम्रो भएको भन्दै एकआपसमा विलय हुनु स्वभाविक भएको बताएका छन् ।

उनले ‘आफुलाई कम्युनिष्ट पार्टी भने पनि व्यवहारमा राज्य पुँजीवाद ‘क्रोनी क्यापिटालीज्म’लाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वका लागि आपसमा विलय हुनु स्वाभाविक हो’ भनेर लेखेका छन् । उनले ‘राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरुद्ध दशवर्षे जनयुद्ध सञ्चालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादीबीच अहिले मूलतः एमालेकै राजीतिक कार्यदिशा र वर्चस्व अन्तर्गत एकीकरण हुनु चाहिं विडम्वनापूर्ण कुरा हो’ भनेका छन् ।
भट्टराईले अबको स्थितिमा इमान्दारीपूर्वक विगतका उपलब्धीको रक्षा गर्दै नयाँ समाजवादी विचार र पार्टीको निर्माणमा लाग्नु र त्यसनिम्ति वृहद राजनीतिक ध्रुवीकरण गर्नु उपयोगी र वस्तुवादी हुने ठहर गरेका छन् ।








