जेठ ५, काठमाडौँ । क्युबाको राजधानी हवानास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा बोइङ ७३७ विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु भएको क्युबाली सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

क्युबाको कम्युनिस्ट पार्टीको पत्रिका ग्रान्माका अनुसार तीन जनाको जीवित उद्धार गरिएको छ । तर उनीहरुको अवस्था चिन्ताजनक छ ।
आन्तरिक उडानमा रहेको बोइङ ७३७–२०१ जहाज शुक्रबार स्थानीय समय अनुसार १२ बजेर आठ मिनेटमा उडेको थियो । जहाजमा १ सय १० जना यात्रु र चालक दलका सदस्य थिए ।
चालक दलका ६ जना सदस्य मेक्सिकोका र बाँकी यात्रुहरु क्युबाली रहे पनि पाँच जना विदेशी रहेको सरकारी वेबसाइट क्युबाडिबेटले जनाएको छ । विदेशी नागरिकहरुको राष्ट्रियता खुलाइएको छैन ।







