जेठ १८, काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीको आन्दोलनका कारण ईमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएका सेवा आजबाट सुचारु हुने भएका छन् ।

अस्पताल व्यवस्थापनले ४ कर्मचारीलाई विनाआधार जागिरबाट निकालेको भन्दै नन टिचिङ स्टाफको आन्दोलनका कारण १० दिनदेखि अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा अवरुद्ध थियो ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयमा भएको सर्वपक्षीय वार्तापछि बिहीबार राती शुक्रबारदेखि सबै सेवा सञ्चालन गर्ने सहमति भएको बताइएको छ । साथै मणिपालको समस्याको छानविनका लागि प्रदेश सरकारले एक छानविन समिति पनि गठन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री नरदेवी पुनले बताए ।
अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहोरा, टेकबहादुर बिक, निलकन्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पतालले हिनामिना गरेको भन्दै जागिरबाट निकालेको थियो । साविकका एमाले र माओवादी केन्द्र तथा कांग्रेस निकट कर्मचारी युनियन उनीहरुको पुनर्वहालीको माग सहित आन्दोलनमा छन् ।
तर निस्कासनमा परेका कर्मचारीको पुनर्वहाली नहुने अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजले बिहीबार पत्रकार सम्मेलन गरी अस्पताल जस्तो अत्यावश्यक सेवा बन्द हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएको बताए ।








