२० जेठ २०८३ , बुधबार

चारसय चल्ला मरेपछि बर्डफ्लुको आशंका

जेठ २३, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरा फर्मका ४ सय चल्ला मरेपछि बर्डफ्लुको आशंका गरिएको छ ।

फर्म सञ्चालक उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै ४ सय चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए ।

 

यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए ।

 

एकैचोटी ठूलो सङ्ख्यामा चल्ला मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने आधार रहेको स्थानीय पशु प्राविधिक पाठकले बताए ।

 

यता कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताए ।

 

त्यस्तै, जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले आफूलाई सो विषयमा जानकारी नआएको प्रतिक्रिया दिए । प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पंक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेकोे भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *