जेठ २५, काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले तत्कालीन एमाले र माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न अरू दलले एक वर्षसम्म प्रयोग गर्न नपाउने गरी दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।

नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीलाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बिहीबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेसँगै नेकपाले निर्वाचन आयोगबाट औपचारिक रूपमा राजनीतिक दलको मान्यता पाएको छ ।
आयोगको बुधबार बसेको वैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्तासँगै सूर्य चुनाव चिह्न र हँसिया हथौडा झन्डा प्रदान गर्ने निर्णय गरेको थियो ।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले नाम, झन्डा र चिह्न राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने निर्णय भएको विज्ञप्तिमार्फत जनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।







