जेठ २५, काठमाडौँ । फुटबलको सबभन्दा ठूलो मेला विश्वकप सुरु हुन अब करिब एक साता मात्र बाँकी छ । विश्वकपमा आ–आफ्नै मनपर्ने टिम र खेलाडी छन् । त्यस्तै केही नेपाली फुटबलरका मनपर्ने टिम र खेलाडीका बारे कान्तिपुर दैनिकले समाचार छापेको छ ।

विमल घर्ती मगर ः विमललाई मनपर्ने टिम अर्जेन्टिना हो । उनलाई अर्जेन्टिनाकै लियोनल मेस्सी मनपर्छ । उनी अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी भएको आफ्नै इतिहासका कारण यही टिमले विश्वकपमा बाजी मार्ने कुरामा विश्वस्त छन् ।
विशाल श्रेष्ठ ः विशाललाई मनपर्ने टोली ब्राजिल हो । तर उनलाई स्पनेका इकार कासियास मन पर्छन् । युवा खेलाडीको जोस भरिएको टिम ब्राजिल भएकाले यही टिमले विश्वकप जित्ने उनको भनाई छ ।
अनन्त तामाङ ः उनलाई जर्मनीको टोली मनपर्छ । उनलाई भने स्पनेका सर्जियो रामोस खेलाडी मनपर्छ । उनी जर्मनीले विश्वकपको ट्रफी उचाल्ने सम्भावना देख्छन् । जर्मनीको डिफेन्स र आक्रमण गर्ने एक से एक खेलाडी भएकाले पनि यही टिमले बाजी मार्ने सम्भावना उनले देखेका हुन् ।
अञ्जन बिस्ट ः अञ्जनलाई पोर्चुगल मनपर्ने टोली हो । उनी क्रिस्टियानो रोनाल्डोका फ्यान हुन् । तर विश्वकपको बाजी ब्राजिलले मार्ने सम्भावना देख्छन् उनी । आक्रामक र स्तरीय खेलाडी भएकैले ब्राजिलले जित्ने उनी बताउँछन् ।
भरत खवास ः भरत खबास ब्राजिलका फ्यान हुन् । उनलाई उरुग्वेका लुइस सुआरेज मनपर्छ । विशेषतः छोटो पास खेल्ने अद्भुत कला ब्राजिलियन खेलाडीमा भएकाले यही टिमले बाजी मार्नेमा उनी ढुक्क छन् ।
सुजल श्रेष्ठ ः सुजल स्पेनलाई समर्थन गर्छन् । यसपटकको विश्वकपको बाजी पनि यसै टिमले मार्ने सम्भावना देख्छन् उनी । विशेषगरी युवा खेलाडी र अनुभवी खेलाडीको सम्मिश्रण भएकाले सन्तुलन रहेको टिम स्पेन नै लाग्छ उनलाई । तर उनलाई पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो मनपर्ने खेलाडी हुन् ।








