जेठ २७, काठमाडौँ । नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगिभित्र चलखेल सुरु भएको खबर आजको नागरिक दैनिकमा छ ।

जग्गा खरिद प्रक्रियामा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको थियो । अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो ।
यसै साता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ ।
स्रोतका अनुसार अनुसन्धानमा अनियमितता देखिए पनि आयोगका प्रमुख कार्यवाहक आयुक्त नवीनकुमार घिमिरे मुद्दा चलाउने पक्षमा देखिएका छैनन् । ‘शक्ति दलाल समूहको दबाबमा परेर कावा प्रमुख आयुक्तज्यूले नै मुद्दालाई ‘सफ्ट’ गर्ने संकेत गर्नुभएको छ,’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरी तयार गरिएको फाइललाई तामेलीमा राख्ने खेल सुरु भयो ।’








