जेठ ३०, काठमाडौँ । आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको म्याद थपिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला उक्त आयोजनाका ठेकेदारको भने म्याद थप मात्र होइन, उसको माग दाबीअनुसार क्षतिपूर्ति दिने तयारी समेत गरिएको छ ।
भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।
दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफलपछि मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।








