जेठ ३१, कञ्चनपुर । बेलौरी नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारी सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

दुईवटा सडक निर्माणमा अनियमितता भएको बेनामे उजुरी परेपछि अख्तियार टोलीले अनुसन्धान थालेको हो । ‘वडा नं. ६ र २ मा ग्राभेल सडक निर्माणमा अनियमितता भएको उजुरी परेको छ,’ आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘त्यही छानबिनका लागि नगरपालिका कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो ।’
शाखा अधिकृत हरिशचन्द्र जोशी नेतृत्वको टोलीले मंगलबार सडक अनुगमनसँगै कागजात नियन्त्रणमा लिएको हो । उनका अनुसार उजुरीमा सामान खरिदको दर तथा निर्माण सामग्री कम राखेर बढी देखाइएको दाबी गरिएको छ । ‘कागजात अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘फिल्डमा पनि अनुगमन भइरहेको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।








