जेठ ३१, काठमाडौँ । संघीय र प्रदेश सांसदलाई तालिम दिन राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ५ वर्षमा ६० करोड रुपैयाँ खर्च गर्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यूएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद् सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।
प्रदेश संसद् सचिवालयलाई सबल बनाउने, कर्मचारीको क्षमता विकास गर्ने, प्रदेश सदस्यलाई कानुन बनाउने र कार्यान्वयन गर्नेलगायत अन्य प्रक्रिया सिकाउनेजस्ता कार्यक्रम गर्नका लागि सचिवालयले सम्झौता गरेको हो ।
यूएनडीपीका अनुसार सन् २००८ देखि अघिल्लो वर्षसम्म दुई अर्ब १८ लाख रुपैयाँभन्दा बढी सहयोग उसले गरेको छ । पहिलो र दोस्रो संविधानसभामा सहभागी १ हजार ३ सय ४३ सांसदको क्षमता अभिवृद्धि गरेको, कम्प्युटर, सवारी साधन, संसदभित्रको ब्रोडकास्टिङ प्रणालीको विकास गरेको, फर्निचर, फोटोकपी मेसिन सहयोग गरेको यूएनडीपीले जनाएको छ ।
अघिल्लो साता संसदीय प्रक्रियाको जानकारी गराउन यूएनडीपीको खर्चमा सांसदलाई तालिम दिँदा विरोध भएपछि सरकारकै बजेटबाट खर्च भएको भन्दै बचाउ गरेका सभामुख कृष्णबहादुर महराले नै सांसदको क्षमता अभिवृद्धि गर्न ६० करोड लिने सम्झौता गरेकोमा सांसदहरूले भने आश्चर्य मानेका छन् ।
यूएनडीपीले सन् २००८ देखि नै संसद्मा सपोर्ट प्रोजेक्ट चलाइरहेको छ ।








