असार २, काठमाडौँ । सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट सार्वजनिक गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकहरुमा मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेशगत बजेट विवरण
प्रदेश १–३५ अर्ब
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभा बैठकमा ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरेको बताए ।
कुन क्षेत्रमा कति बजेट ?
प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम– १ अर्ब १२ करोड
कृषि – ८५ करोड
पर्यटन –८९ करोड
औद्योगिक क्षेत्र – १ अर्ब ३० करोड
शिक्षा – १ अर्ब ३५ करोड
स्वास्थ्य क्षेत्र – १ अर्ब ४४ करोड
युवा तथा खेलकुद – ४३ करोड
खानेपानी, वन वातावरण र सरसफाइ – २ अर्ब ७४ करोड
सुरक्षा तथा सामाजिक न्याय – १ अर्ब २९ करोड
उर्जा विकास र जलस्रोत विकास – ७१ करोड
प्रदेश २– २९ अर्ब
प्रदेश २ को सरकारले कुल २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको शुक्रबार अपरान्ह बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारको बजेट पेस गरेका हुन् ।
बजेटको कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार (४८.६० प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार(५१.४० प्रतिशत) छ ।
प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडको रकममध्ये बजेटमा ४० करोड रुपैयाँ बिनियोजन गरिएको छ । प्रदेशअन्तर्गतका गाउँपालिकालाई ५० लाख, नगरपालिकालाई १ करोड, उपमहानगरलाई २ करोड र महानगरपालिकालाई ३ करोड रुपैयाँ सशर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि दुई किस्तामा बजेटमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रत्येक प्रदेशसभा सदस्यलाई दुई किस्तामा वितरण गरिने निर्वाचन क्षेत्र विकास कोषका लागि ५८ करोड ७५ लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।
प्रदेश ३ – ३५ अर्ब
प्रदेश ३ सरकारले ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले पेस गरेको राजस्व तथा व्ययको अनुमान (बजेट) मा चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार र पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार विनियोजन भएको छ ।
प्रदेश ४– २४ अर्ब
प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६ अर्ब ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख (६६ प्रतिशत) छुट्टाइएको बताए ।
कुन क्षेत्रमा कति बजेट ?
उद्योग – ५० करोड
पर्यटन – ५५ करोड
कृषि तथा पशु – १ अर्ब ४० करोड
खानेपानी – ५२ करोड
सडक – ३ अर्ब २० करोड
सिँचाई – ६३ करोड
शिक्षा – ५६ करोड
स्वास्थ्य– १ अर्ब ६५ करोड
प्रदेश ५– २८ अर्ब
प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ ।
कर्णाली प्रदेश – २८ अर्ब
कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु. २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेटमध्ये चालू खर्चतर्फ रु छ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ रु २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार छुट्याइएको जानकारी दिए ।
प्रदेश ७ – २५ अर्ब
प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा सरकारले आव २०७५÷०७६ का लागि रु २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात ५३ दशमलब २६ प्रतिशत र पुँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६ दशमलब ७४ प्रतिशत विनियोजन गरेको जानकारी दिए ।
कान्तिपुर दैनिकमा समाचार छ ।








