असार ३, दाङ । दाङको गढवामा स्थानीयले बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शन रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडपसमेत भएको खबर नयाँ पत्रिका दैनिकमा छ ।
झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।
गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटा पक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।
केटा पक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।








