सन्तोष निरा
असार ५, काठमाडौँ ।
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा चीर निद्रामा परिसकेका छन् । हिजो असार ४ गते सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा उनी चीर निद्रामा परेको समाचार टेलिभिजनको स्क्रिनमा देखियो । उनको निधनको खबर कुनै चलचित्रको कथा जस्तो अनि सपना जस्तो थियो । थुप्रैले श्रद्धाञ्जलि शब्द लेख्न थाले । अनि कसैले लेखे– ‘अब्बल सपनाको समाधि’ ।

देवकोटालाई अब्बल चिकित्सक मान्नेहरू धेरै छन् । उनी चिकित्सा क्षेत्रमा मात्र हैन, अन्य क्षेत्र र जीवनका व्यवहारिकतामा पनि अब्बल थिए । उनको अब्बल सपना थियो । त्यही सपनाले उनलाई अब्बल बनायो । र, समाधि भयो अब्बलतामै ।
उनले आफ्नो मृत्यु निश्चित भएको थाहा पाए । पित्तथैलीको क्यान्सरबाट पीडित उनको उपचार विदेशी भूमिमा केही महिना भयो । तर जब मृत्यु निश्चित भयो, उनले ‘मृत्यु’ शब्द रोजेनन् बरु गर्विलो शब्द रोजे– ‘समाधि’ । उनले आफ्नो समाधिका लागि आफ्नै जन्मभूमि र जरुवाको अन्तिम घुड्कि पिउने इच्छा व्यक्त गरे । र, फर्काइयो नेपाल । अनि गोरखाको आफ्नै घरको पिँढीमा बसाइयो । उनले आफ्ना सपनाको केही अंश पूरा गरे; र बाँकी त्यहीँ पिँढी अनि बाँसबारीको आफ्नै अस्पतालमा छाडेर गएका छन् ।
६४ वर्षअघि जन्मिएका डा. देवकोटा अब्बलहरूकाबीचमै थिए । नेपाली राजनीतिका अब्बल मानिने राजनीतिज्ञ डा. बाबुराम भट्टराई उनका सहपाठी थिए । ‘नेपाल आमाका सुयोग्य सपूत; तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ’, सहपाठी डा. भट्टराईले उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै भनेका छन्, ‘तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं !’ हो, उनी मेधावी थिए । विद्रोही विद्यार्थी थिए, अनि चौतर्फी पनि । यी दुवै अब्बल विद्यार्थीहरू गोरखाको अमरज्योति हाइस्कूल र काठमाडौँको अस्कलका ८ वर्षसम्मका सहपाठी थिए । सहपाठीका नाताले डा. भट्टराईले गर्विलो महसुस गरेका छन् ।
डा. देवकोटा विद्यालय जीवनमा विद्रोही स्वभावका थिए । आफ्नो नम्बर कम आउँदा कहिल्यै कसैसँग गुनासो गरेनन् । तर विद्यालयबाट बाइबलधारी धर्मको प्रचार हुँदा खुलेर त्यसको विरोध गरे । स्वास्थ्य खबर पत्रिका लेख्छ– ‘नेपाली पढाउने एकजना गुरुले उनलाई प्रत्येकपटक दिने नम्बर थियो ६२ । एकपटक सो विषयका शिक्षक फेरिए, उनको नम्बर आयो ८३ ।’ यसले उनको अब्बलता झल्काएको छ । र, विद्रोहकै कारण नम्बरमा तलमाथि भएको हुन सक्ने संकेत मिल्छ ।

उनको सपनाको बीऊ सानै छँदा घरमै टुसाएको थियो । उनले आफ्ना बाबुले गरेको सेवा देख्दा भविष्यमा आफू डाक्टर बन्ने सपना पाल्न सुरु गरेका थिए । बिरामीलाई जाँचेको देख्दा उनको मष्तिष्कमा पनि ‘यसैगरी म पनि बिरामी जाँच्छु र उपचार गर्छु’ भन्ने सपनाले बिजारोपण गर्यो । अनि घरमा रहेको पाठशालाको वातावरणले उनलाई पढ्नुपर्छ भन्ने चेतना जगाइदियो । बाल मष्तिष्कमा परेको त्यही चेतनाले उनलाई जीवनको उत्तराद्र्धसम्म डोर्याइरह्यो ।
डा. देवकोटा सानै उमेरदेखि समाजसेवामा लागेका थिए । ७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले । त्यसको विधान आफैं लेखे । सुधार समितिले धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलायो । तिहारमा समेत जुवातासजन्य खेल खेल्नेलाई प्रहरी प्रशासनसम्म पुर्याइदिने काम ग¥यो ।
आफ्नो सिद्धान्तबाट नडग्मगाएका डा. देवकोटाले आफ्नो सफल सपना यात्रा गरिरहे । उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । डाक्टर बन्ने सपना साकार भयो । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए ।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए । पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे । त्यो कुरालाई बेलायतीले पनि सम्मान गरे । नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखे ।
पढाईपछिको तालिमका करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाए । जिन्दगीमा पाएको त्यो एक्स्पोजरले उनको सोचाई, आँट र सीपलाई अझै परिष्कृत र्गयो । बेलायतको अध्ययनले उनलाई ठुल्ठुला सपना देख्न सिकाएको ठहर उनको छ । ‘कमजोर मानिसले भिजन लिन सक्दैनन्’ उनी भन्थे ‘स्वदेश फर्किएपछि नेपालका स्वास्थ्य क्षेत्रमा लागू भएका र हुन वाँकी भिजन मैले बेलायत र मेरो स्कुलिङबाट सिकेँ ।’
डा. देवकोटाले वीर अस्पतालमा २५ वर्षसम्म हजारौँको स्वास्थ्य सेवा गरे । कयौँ गरिबलाई सेवा दिए । त्यहीँबाट मात्रै थुप्रै न्युरोसर्जन तयार पारे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । त्यतिबेला स्वास्थ्य मन्त्रालयमा पनि उनले धेरै नयाँ काम गरे । राजाका पालामा मन्त्री हुँदा उनलाई राजावादी भएको आरोप पनि नलागेको होइन । तर उनले आफ्नो सिद्धान्तले राजालाई ‘विष्णुको अवतार’ नमानेको प्रस्ट्याइदिए । अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए । नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु भयो । दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो । दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने भनेको थियो ।
डा. देवकोटाको सपना प्रत्येक क्षेत्रीय अस्पतालमा डाक्टर पढाउने थियो । सरकारीस्तरमै मेडिकल कलेजको संख्या पनि बढाउन चाहन्थे । तर समय पुगेन । उनलाई सरकारी सेवामा चिकित्सकको अभाव र गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने अब्बल उपाय यही हो भन्ने लागेको छ । यो उनको बाँकी सपना हो । उनका यस्ता थुप्रै सपनाहरू छन् । उनको जीवनको सामाधिसँगै ती सपनाको पनि समाधि नहोउन् ।
(तस्विर– डा. बाबुराम भट्टराईको फेसबुकबाट लिइएको हो ।)







