असार ६, काठमाडौँ । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाइ सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुले आग्रह गरेका छन् ।

आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने ?’ विषयक अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्राइएका बालबालिकाहरुको गुणस्तरीय शिक्षण सिकाइ तर्फ हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै, शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्कालाई लगाउन छाडेर संयुक्त रुपमा सिकाइ सुधारको पहल हुनुपर्ने बताए । ‘अब शिक्षा बिग्रियो भने तह लगाउने कसले ? प्रअ को जिम्मेवारी, कि स्थानीय तहको कि विव्यासको ? कसले गर्ने हो एउटा टुंगो लगाउनु पर्छ’, कोइरालाले भने ।

शिक्षकको योग्यताको आधारमा वर्गीकरण गरी उत्कृष्टलाई पुरस्कृत र सम्मानका साथै, कमजोर शिक्षकलाई तत्काल हटाउनुपर्नेमा कोइरालाको जोड थियो ।
शिक्षाविद गंगाराम गौतमले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मकै सिकाइ उपलब्धि चिन्ताजनक देखिएको भन्दै त्यसको पहिलो जिम्मेवारी पढाउने शिक्षकले नै लिनुपर्ने बताए ।
आफुले एकपल्ट अनुगमन गर्दा विश्वविद्यालयका सय जना अंग्रेजी अध्ययन गरिरहेका विद्यार्थी मध्ये ९० जनाको सिकाइ अवस्था कमजोर देखिएको अनुभव सुनाउँदै गौतमले शिक्षकहरुले विद्यार्थीलाई ४५ सालकै शिक्षण सिकाइ गरिरहेको आरोप लगाए ।
‘अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ । त्यतिबेला नोट गराइन्थ्यो अहिले पावर प्वाइन्टमा देखाइने रहेछ ।’ उनले भने – ‘२० वर्ष अघिको समाजशास्त्रको प्रश्नपत्र र अहिले सोधिने प्रश्न पत्र एउटै छ । शिक्षक तयारी पार्नै सकेका छैनांै । विद्युतीय हाजिरीले यसमा सुधार आउँदैन ।’








