असार ७, काठमाडौँ । चिनियाँलाई रेललाई नेपालसम्म पु¥याउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्तामा चिनियाँ रेल नेपाल आउने ठोस समझदारी भएको छ ।
कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्जालको नेपाली चाहनालाई पहिलोपटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् ।
उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, ‘हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दैछ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।’
प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको हाल जारी पूर्वसम्भाव्यता अध्ययन यही अगस्ट महिनाभित्र सक्ने गरी तयार पारिएको समझदारीपत्रमा बिहीबार हस्ताक्षर हुँदै छ । पूर्वसम्भाव्यता अध्ययनपछि अर्को सम्भाव्यता अध्ययनतर्फ नलागी सिधै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।







