असार १६, काठमाडौँ । विभिन्न राजनीतिक विद्यार्थी संगठनहरूको दबाबमा त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क घटाएको छ ।

यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको थियो । त्यसअघि एक हजार रुपैयाँ मात्र शुल्क थियो । त्रिविले एक हजार शुल्क घटाएपछि अब १ हजार ५ सय परीक्षा शुल्क कायम भएको छ ।
आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो । ‘वृद्धि भएको शुल्क घटाउन हामी सफल भएका छौं,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘अब त्रिविले १ हजार पाँच सय रुपैयाँ परीक्षा शुल्क लिने सहमति भएको छ ।’
त्यसअघि बढाइएको शुल्क खारेज गर्न माग गर्दै विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा डेलिगेसन गएका थिए । त्यसको भोलिपल्टै विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका नेताहरुबीच वार्ता भएको थियो । वार्तामा शुल्क घटाउने सहमति भएपछि धेरै विद्यार्थीहरुलाई राहत मिल्ने भएको छ ।
यसैबीच नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी अध्ययन गर्न सबै विद्यार्थीहरुले पाउने भएका छन् । यसअघि प्रवेश परीक्षा गराएर ८ सय जनालाई मात्र भर्ना लिने निर्णय क्याम्पस प्रशासनले गरेको थियो । ८ सय जनाका लागि क्याम्पसले लिएको प्रवेश परीक्षामा ४ हजार ८ सय विद्यार्थीहरु सहभागी भएका थिए ।
तर संयुक्त विद्यार्थी संगठनको दबावमा कोटा निर्धारण नगर्ने र प्रक्रिया पुर्याएर सबै विद्यार्थीहरुलाई भर्ना लिन क्याम्पस प्रशासन सहमत भएको छ । एलएलबी पढ्न इच्छुक विद्यार्थीहरु २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।








